Sunday, April 8, 2007

एउटा नयाँ नाटक वा नयाँ अवसर


- नरेश कुमार उप्रेती

एक वर्ष अघि जब नेपाली जनता सडकमा उत्रिएका थिए, उनीहरु न कुनै वाद्का निम्ति या कुनै राजनैतिक शक्तिलाई पुनर्स्थापित गर्नका निम्ति टाउकोमा कात्रो बाँधेर प्रहरी र सैनिकको बन्दुक का गोली छिचोल्दै स्व स्फुर्त आन्दोलनमा अघि बढेका थिए । नेपाली जनता त देशमा मर्ने र मार्ने द्वन्दको पिँडाबाट वाक्क भएका एकतिर थिए भने अर्कोतिर राजा विरेन्द्र को हत्यामा हात रहेको भनेर जनताका नजरमा गिरेका ज्ञानेन्द्रको चुरिफुरिको अन्त चाहन्थे। त्यसैले जनताले बिगतमा पार्टिहरुले गरेका भ्रस्टाचार र दन्ड हिनताको शासनलाइ बिर्सिएझैँ गरेका थिए। त्यसैले जनताको त्यो आन्दोलनलाइ भजाएर, माओवादी वा खाओबादि, लाओबादी वा अरु कुनै वादि ले जनताको नाममा ठूला ठूला कुरा गर्नु मूतको न्यानो जस्तो मात्रै हो भन्दा यहाँ अतिशयोक्ति नहोला।

जनता लोकतन्त्र चाहन्छन्, शान्ति चाहन्छन्, बांच्नका लागि बिकास चाह्न्छन। एउटा नयाँ नेपालको परिकल्पना साकार भएको हेर्न चाह्न्छन। जनताको जनमत बिना शासन गर्ने यूग यो होइन। जनता नै सर्वोपरि हुन र उनिहरुको मत नै सर्वोपरि हुन्छ। त्यसैले जनताले निर्धक्क भएर मत हाल्ने वातावरणको सिर्जना गरी संबिधान सभाको चुनावमा जानु र त्यसको मतलाई कदर गर्दै नयाँ नेपाल निर्माणमा लाग्नु नै सबैको कल्याण हुने बाटो हो। तर चुनावलाइ एउटा बिगतको नाराको रूपमा बाध्यता सम्झेर जसो तसो सक्ने अनि मिलिजुलि बाँडिचुडि खाने आन्तरिक उद्देश्य जुन देखिन थालेको छ,त्यो आफैमा खतरनाक कदम हुन सक्छ।

चैतको अन्त भैसक्यो, दल दर्ताको प्रकृया बल्ल सुरु हुदैँछ। मार्टिन स्वयँले हतारमा जसो तसो गरिएको चुनाव अन्तररास्ट्रिय समूदायलाई मान्य छैन भने पनि हामी जसरी भए पनि चुनाव असारमै गराएर छाडछौँ भन्दै कुर्लिने प्रचन्डलाई ताली को निम्ति गालि गर्न रमाउने कम्युनिस्ट शैलि भन्ने कि उही ज्ञानेन्द्रले गराएको चुनावी नाटकको दोस्रो पाटो भनेर जनताले बुझ्ने ? जनताको मतलाई कदर गर्ने उद्देश्य साँच्चिकै राखिएको हो भने र बिगतमा जनताको त्यो उर्लिएको महासागर आफ्नै पार्टीको नेतृत्त्वमा देश चलाउने आह्वानको लागि हो भनेर सोचेको हो भने कुनै पनि शक्तिले अहिले कू गर्छन भन्ने बहाना देखाएर भागबन्डाको चुनाव गर्न खोजियो भने देशले शान्तिपूर्ण अवतरणका लागि अझै धेरै पापड बेल्नु पर्ने देखिन्छ।


देशका प्रधानमन्त्री कै अनुसार राजा ज्ञानेन्द्र बाट ज्ञानेन्द्र मात्रै भैसकेको अवस्थामा, नेपाली सेना र माओबादि सेना दुबै आफ्नै मातहतमा रहेको अवस्थामा पनि अब असारमा चुनाव भएन भने यस्तो हुन्छ, उस्तो हुन्छ भनेर भन्छन भने नेपाली जनताले यिनिहरुलाई हुति नभएका, असफल नपूंसक नेता भन्दा फरक पर्ला र? कू भनेको जहिले पनि हुन सक्छ, चुनाव पछि पनि हुन सक्छ, त्यो नहुनका लागि जनचाहना अनुसार काम गर्नु पर्छ, पार्टीभन्दा राष्ट्रलाई प्राथमिकतामा राख्नु पर्छ। जनता आफ्नो पक्षमा छैनन भने, कू गर्नका लागि ज्ञानेन्द्र चाहिदैन, नयाँ शक्तिको जन्म हुन्छ जस्ले आजका स्वघोशित(चुनावको परिणाम आईनसकेकोले) महाशक्तिहरु पनि भोलि कठघरामा उभिनु पर्ने हुनसक्छ। बिगतका हत्या र बिध्वँसको जवाफ दिनु पर्ने हुन सक्छ।

जनताले धेरै नाराहरु सुनिसके,अब कुनै क्रान्तिकारी नारा बिक्ने अवस्था कमसेकम म चाँही देख्दिन। चुनाव असारमा हुन नसक्ने भयो, मँसिरमा गर्नु पर्ला भनेर कुनै नेताले भन्यो भने जनता सडकमा ओर्लिदैनन,बरु एउटा नेता त सही बोल्ने पाइयो भनेर दंङ्ग पर्छन नेपालि जनता। उनीहरु यतिखेर कुनै पनि मूल्यमा शान्ति र विकाश चाहन्छन। उनिहरुका हातमा फोका उठिसक्यो तालि बजाउँदा बजाउँदा,उनिहरुका गला सुकिसक्यो नारा लगाउँदा लगाउँदा,उनिहरु वाक्क दिक्क भैसके नेपालीले नेपालीलालाई मारेको देखेर। केवल चाह्न्छन त शान्ति सँग दुई छाक बिहान बेलुका खाना पाइयोस र बेलुका सुते पछि बिहान ज्युँदै उठ्न पाइयोस। उनीहरुलाई चुनाव असारमा होस य मँसिरमा,केहि हतार छैन।

चाहे राजा रहून् या नरहून,यसले नेपाली जनतालाई कुनै फरक पर्दैन,माओबादि सत्तामा जाउन या नजाउन;यसले पनि उनीहरुलाइ कुनै महत्त्व राख्दैन,गिरिजाप्रसादले चुनावी मसला खोलून् या नखोलून्,त्यस्ले पनि कुनै लछार् पाटो लाउँदैन। माधवले के बोल्छन त जनताले सुन्नै छोडिसके। खालि चाहन्छन् त कुकुरले हड्डीमा लुछा चुँडि गरे झैँ; पद र शक्ति, फालिएको हाडमा होइन जनताको मतमा खोजेको हेर्न चाहन्छन आफ्ना नेतालाई। सायद एउटा नया सुद्दिकरणको क्रान्ति नभए सम्म दम्भको राजनितिले अन्त पाउंदैन र तबसम्म नेपाली जनताले पनि एउटा स्वच्छ सफा समाज देख्न्न पाउंदैन। आशा गरौँ त्यो सुद्दिकरणको आन्दोलन आगामी चुनावको परिणामको रूपमा सुरु होस। त्यसैले, चुनाव एउटा नाटक मन्चन् मात्र नभएर एउटा परिवर्तनको अवसर बनोस।


(Uprety currently works as an IT Consultant in US . He has instructed at various educational institutions and is involved with projects related to education. He can be reached at
upretynaresh@yahoo.com
)

1 comment:

Anonymous said...

Well said !!!! Cheers to you