Saturday, April 14, 2007

चाहिँदैन गणतान्त्रिक मोर्चा : गगन थापा, बिद्यार्थी नेता नेबिसंघ


















१. नेबिसंघको नेता तपाई, तर संगठन भित्र र पार्टी भित्रको पनि स्थायी प्रतिपक्ष जस्तो, सँधैबिरोधी आवाजमात्रै चर्काएर संगठन चल्छ ?

सँधैको प्रतिपक्षी त होइन, तर पार्टी भित्र पनि अलगधारको कुरा राख्दा कहिलेकाही त्यस्तो स्थिती आउँछ । पार्टी संगठन भित्र आफ्ना धारणा राख्नुपर्छ र कुन सिद्धान्त र बाटोमा अघि बढ्नुपर्छ भन्ने मार्गलाई छलफल गरेर अघि लैजानुपर्छ । संगठनले अबलम्बन गरेका अहिलेका मुद्दाहरु तथा सैद्धान्तिक बिषयमा यसरी जाउँ भनेर भन्दा त्यसले संगठनलाई फाइदा नै पुग्छ ।

२. संगठन भित्र यसरी प्यानलाइज जस्तो गरेर जाँदा संगठनको चाहिँ हित हुन्छ ?

हामीले प्यानलाइज गरेको भन्ने होइन । मत मिल्ने भन्ने जहाँ पनि हुन्छ। फेरि हामीले उठाएका बिषयलाई आखिरीमा पार्टी संगठन पनि हामीले उठाउने गरेको मुद्दामै एकीकृत हुन आइपुगेको छ । यसले हामीले गलत बिषयलाई उठाएका हौँ, भन्ने पनि लाग्दैन । हामीले लोकतन्त्रको कुरा उठाएका थियौँ, कुनैबेला हामीले उठाएका बिषयलाई लिएर पार्टी भित्रै आलोचना हुनथ्यो भने अहिले त्यही बिषयमा पार्टी सहमति मा आएको छ । सही बिचारको लागि एकीकृत हुनु पार्टी संगठनलाई मार्ग निर्देश गर्न र अगाडि बढाउनको लागि पनि राम्रो कुरा हो, यसले फाइदा नै पुग्छ ।

३. लोकतन्त्रको कुरा गर्ने पार्टी भित्रको लोकतन्त्र बिकास हुन सकेन भन्ने लाग्दैन ?

हों, यो हामीले पनि अनुभव गरेको र बारंबार उठाउँदै आएको कुरा हो । पार्टी भित्रको लोकतान्त्रिक संस्कार मजबुत हुनुपर्छ । आफ्ना मान्छे र नजीकको सम्बन्धले संगठनलाई सही दिशामा पुर्‍याउदैन भनेर हामीले भन्दै आएका हौ, कतिपय अवस्थामा यही संस्कारले नराम्रो स्थिती पनि बनाएको छ.........


४. तपाई आफै पनि पिडीत हुनुभयो, होइन ?

पूराना कार्यकर्ताको भन्दा नजिक र स्वार्थ युक्त ब्यक्तिले जिम्मेवारी पाउने स्थिती रहन्छ यदि अलोकतान्त्रिक संस्कार रह्यो भने । तर अहिले पार्टी भित्रै पनि ब्यापक छलफल भएको छ, पार्टी भित्रैका नेताहरुले पनि कुरा उठाउनुभएको छ । बहस भएको छ । कांग्रेस भित्र लोकतान्त्रिक संस्कार बिकास हुँदै गएको छ ।

५. तरल राजनैतिक स्थितीमा पार्टी स्पष्ट एजेन्डा राख्न सकेको छैन, किन होला ?

यो जटिल स्थिती हो । अहिले लिने निर्णयहरु निकै संबेदनशील हुन्छन, र त्यसैले निर्णय प्रक्रियामा केही बिलम्ब हुनु अस्वाभाविक होइन । कतिपय निर्णयहरु त हाम्रो पार्टी यसअघिको महाधिबेशनले पनि गरीसकेको छ तर अन्य कुराहरुमा संबिधानसभाको निर्वाचनको तिथिनै तोक्ने बेला हुन लाग्दा पनि ठोस निर्णय लिन हतारो भयो भन्ने हामीलाई पनि लागेको छ । छिट्टै निर्णय आउँछ, आन्तरिक छलफल र गृहकार्य जारी नै छ ।

६. पार्टी संगठनको मुलधार सँग अहिले तपाईको सम्बन्ध कस्तो छ ?

संगठन भित्र आफ्ना कुरा राख्ने कुरा जहिले पनि रहन्छ । त्यसैले त्यसलाई सम्बन्ध कस्तो छ भनेर हेर्ने मिल्दैन । मैले आफ्ना अडानहरु राखेको छु, केन्द्र नेतृत्वसँग कुरा भइरहेको छ । पार्टी तथा संगठनका सिद्धान्त तथा ब्यबहारका मुद्दाहरुमा कसरी जाने भन्ने कुरामा हाम्रो आफ्नो स्पष्ट बिचार राखेकै छौँ ।

७. अहिले चाहिँ नेतृत्वसँग चित्त नबुझेको कुरा के छ ?

संगठन भित्रको आन्तरिक लोकतान्त्रिकरणको कुरा, जस्तै महाधिबेशन स्थगित भएको छ । अन्य कारणहरु पनि छन् यसमा तर संगठनले लिनुपर्ने निती नियम र मान्यताहरुको कुरामा हाम्रो छलफल चलिरहेको छ । नेबिसंघ कांग्रेसको भातृ संगठन हो तर पुच्छर जस्तो मात्रै भएर हिड्ने होइन, दबाबमुलक र निर्णयप्रक्रियामा पनि निर्णयात्मक भुमिका खेल्न सक्नुपर्छ भन्ने हाम्रो सोचाइ हो । संगठनले अहिले को परिस्थितीमा जति दबाबमुलक लगायतका काम गर्नुपथ्र्यो त्यति भएको छैन भन्ने लागेको छ ।


८. गणतान्त्रिक मोर्चाको कुरा उठ्यो, तर सेलायो, अखिल संगठनहरुले मोर्चा बनाएर जाने सम्भावना देखाएका छन्, तर नेबिसंघले स्पष्ट रुपमा त्यसलाई अस्वीकार गरेको छ , किन होला ?

हामी गणतन्त्रको मोर्चामा छौँ, निश्चय पनि हाम्रो लडाइ गणतन्त्र प्राप्तिकै लागि केन्द्रित छ, तर सबैमोर्चानै बनाएर जानुपर्छ भन्ने चाहिँ होइन। हाम्रा आफ्नै मान्यता सिद्धान्त छन्, दायराहरु छन् । तिनले सबै संगठनलाई एउटै मोर्चामा समेटिन जटिल स्थिती बनाउछन् । कार्यगत रुपमा कतिपय स्थितीमा सँगै जाउँ भन्न सकिन्छ तर लौ मोर्चानै बनाएर जाउँ भन्ने चाहिँ सम्भव होइन ।
हामी गणतन्त्रको लागि नै लड्दैछौ भने आबश्यक परेको बेलामा सल्लाह गरेर सँगै यसो गरौँ भनेर जान चाहिँ नसकिने होइन ।

९. नेबिसंघको केन्द्रय महाधिबेशन मुखैमा आएको छ, तपाई उठ्ने योजना छ ?

म कुनै समय संगठनमा बसेँ र जति सकियो त्यति संगठनको लागि गरेँ पनि । तर म अब पार्टी जिम्मेवारी तर्फपनि गइसकेको छु । फेरि एउटै ब्यक्तिले सँधै पद ओगट्ने पनि राम्रो कुरा होइन । नया साथीहरु आउनुहुन्छ संगठनलाई नया जोशका साथ लैजानुहुशनछ । त्यसैले म आफैले चाहिँ उम्मेद्वारी दिने योजना छैन ।

१०. तर आफ्ना मान्छेलाई जिताउने पहल त होला ?

पक्कै पनि निर्वाचनमा सही ब्यक्तिले जितोस भन्ने सबैको चाहना हुन्छ । आफुले योग्य ठानेको ब्यक्तिलाई जिताउने पहल अबश्य गरिन्छ ।

११. बाहिर गएर नेबिसंघको नेता भन्ने तर आफु पदीय दायित्वमा चाहिँ नहुँदा दिक्क लाग्दैन ?

होइन, म मेरो पदको लागि होइन कामको लागि हिडेको छु । मलाई चिन्नेहरुले माया गर्नेहरुले मेरो पदलाई होइन, मेरो काम र बिचारलाई माया गर्नुहुन्छ । केन्द्रिय नेतृत्वसँग नियमित छलफल हुन्छ , सरसल्लाह सुझाव दिने काम हुन्छ । आबश्यक परेका राम्रा कुरा अँगाल्न नेतृत्वलाई सुझाव पनि दिनेनै गरेका छौँ । त्यसैले संगठनमा भएर पदीय जिम्मेवारी लिनैपर्छ भन्ने चाहिँ लाग्दैन ।


Interviewed by : Shasi Pokharel

No comments: